तीन महिनामै पौने १२ करोडको तास आयात


काठमाडौँ । नेपालमा तास खेल्नेहरूमाथि प्रहरीले धरपकड गरिरहेका बेला विदेशबाट भने लाखौँ बट्टा तास भित्रिने गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा मात्रै नेपालमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार दसैँ–तिहारलाई लक्षित गर्दै उक्त अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ बट्टा तास नेपाल भित्रिएको हो । चाडपर्वका बेला तास खेल्ने प्रवृत्ति बढ्ने भएकाले यसको आयात पनि उल्लेख्य देखिएको छ ।

रोचक पक्ष के छ भने, एकातिर प्रहरीले गाउँदेखि सहरसम्म तास खेलिरहेको अवस्थामा मानिसहरूलाई पक्राउ गर्ने अभियान चलाइरहेको हुन्छ भने अर्कोतिर भन्सार नाकाबाट ठूलो परिमाणमा तास आयात भइरहेको हुन्छ । यसबाट तास आयातमा सरकारको राजस्व स्वार्थ पनि जोडिएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार तीन महिनाको अवधिमा आयात भएको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ । अर्थात्, तासको कुल आयात मूल्यको करिब ६० प्रतिशत रकम सरकारले भन्सार राजस्वका रूपमा प्राप्त गरेको छ ।

नेपालको कानुनले म्याजिक देखाउने तथा विभिन्न मनोरञ्जनात्मक खेलमा प्रयोग गर्ने प्रयोजनका लागि तास आयात गर्न अनुमति दिएको छ । तर, व्यवहारमा आयात हुने तासको ठूलो हिस्सा जुवातासमा प्रयोग हुने गरेको छ ।

यसले राज्यको नीति र व्यवहारबीच देखिएको विरोधाभासलाई पनि उजागर गरेको छ । एकातिर तास खेल्ने गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले कारबाही गरिरहेको छ भने अर्कोतिर त्यही गतिविधिमा प्रयोग हुन सक्ने साधनको आयातबाट राज्यले ठूलो राजस्व सङ्कलन गरिरहेको छ ।