बाल्टिक सागरमा पनडुब्बी विरोधी अभ्यास सुरु


काठमाडाैँ । ८ नाटो सदस्य राष्ट्रले बाल्टिक सागरमा पाँचदिने पनडुब्बी विरोधी सैन्य अभ्यास सुरु गरेका छन् । नाटोका एक वरिष्ठ कमाण्डरले पनडुब्बीलाई निरन्तर सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन् ।

सोमबारदेखि शुक्रबारसम्म स्विडेनको नेतृत्वमा हुने उक्त अभ्यासमा बेलायत, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्स सहभागी छन् । बाल्टिक सागर पश्चिमी राष्ट्रहरूले रुसमाथि आरोप लगाउँदै आएका तथाकथित ‘हाइब्रिड युद्ध’ गतिविधिको प्रमुख क्षेत्र बनेको छ।

नाटोका अनुसार अभ्यासमा हजारौँ नौसैनिक, जर्मनी र स्विडेनका पनडुब्बी, विभिन्न देशका युद्धपोत तथा हवाई गस्तीका साधन सहभागी हुनेछन् । अभ्यासअन्तर्गत पनडुब्बी पत्ता लगाउने र तिनको निगरानी गर्ने विभिन्न चरणका गतिविधि सञ्चालन गरिनेछन् ।

नाटोले बाल्टिक क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति बढाएको छ । सैन्य विज्ञहरूका अनुसार उक्त क्षेत्रको उथलो समुद्र र तीव्र जलयातायातका कारण पनडुब्बी पत्ता लगाउन प्रयोग हुने ध्वनि सङ्केत पहिचान गर्न कठिन हुन्छ । यसले पनडुब्बीलाई सजिलै लुक्न सहयोग पुर्‍याउँछ ।

पनडुब्बीसम्बन्धी नाटोका कमाण्डर रियर एडमिरल जोन क्र्याडकले एएफपीसँग कुरा गर्दै समुद्रमुनि निरन्तर प्रभाव कायम राख्न सक्ने एकमात्र प्रविधि पनडुब्बी रहेको बताए।

“त्यसैले पनडुब्बीले समुद्रमुनि आफ्नो प्रभुत्व कायम राख्न सक्ने भएकाले तिनलाई पत्ता लगाउन सक्ने क्षमता आवश्यक छ,” उनले भने। पनडुब्बी पत्ता लगाउने सीप अभ्यास नगरे खस्कँदै जाने उनको भनाइ थियो ।

“हामीले यसको निरन्तर अभ्यास गर्नुपर्छ । जबसम्म हामी समुद्रलाई पूर्ण रूपमा पारदर्शी बनाउन सक्दैनौँ, तबसम्म पनडुब्बीहरू खतरा बनिरहनेछन्,” उनले भने।

फ्रान्सेली नौसेनाका रियर एडमिरल निकोलस मोलिटरले बाल्टिक सागरमा रहेका समुद्रमुनिका केबल तथा पाइपलाइनका कारण पनि सुरक्षा चुनौती बढेको बताए।

अभ्यासका क्रममा एएफपीसँग कुरा गर्दै उनले समुद्रमुनि सञ्चालन गर्न सकिने मानवरहित उपकरण तथा रोबोटबाट पनि खतरा रहेको उल्लेख गरे । समुद्रमा लङ्गर घिसार्दै हिँड्ने पानीजहाजले पनि अत्यावश्यक पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने उनले बताए।