काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौँ उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालनमा ल्याएको छ ।
भाइटीकाका दिन सार्वजनिक सवारीसाधन निकै कम चल्ने भएकाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार उक्त बस सेवा आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँ उपत्यकामा सञ्चालन हुने दुईवटा बसमध्ये पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुग्नेछ ।
त्यस्तै, प्रधान कार्यालयबाटै छुट्ने दोस्रो बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क क्षेत्र हुँदै यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ ।
यसैगरी, स्वयम्भूस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट भक्तपुरसम्म तेस्रो बस सञ्चालन गरिएको छ । उक्त बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भू फर्कनेछ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चाडपर्वका समयमा सार्वजनिक यातायातको अभावका कारण सर्वसाधारणले भोग्नुपर्ने समस्यालाई कम गर्न निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिइँदै आएको छ ।




प्रतिक्रिया