असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति


भोजपुर । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान काट्ने र भित्र्याउने समयमा मौसममा आएको परिवर्तनले किसान चिन्तित बनेका छन् ।

जिल्लाका विभिन्न ठाउँमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको हो । भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले असिना पानीले धानबालीमा क्षति पुगेको बताए ।

‘हिजो एक्कासि असिना पानी पर्‍यो,’ उनले भने, ‘पुनः दोहोरिने चिन्ता बढेको छ । फेरि असिना पानी परेमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।’

उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।

धान पाकेर खेत पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानको भनाइ छ ।