काठमाडौँ । जेनजी युवा दिवस भण्डारीले सात महिनाको बालेन नेतृत्वको सरकारको काम सामाजिक सञ्जालमा कन्टेन निर्माण गर्नेमा मात्र सीमित भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले सरकारका मन्त्रीहरू जनगुनासो र प्रश्नहरूको जवाफ दिनुको सट्टा आधा रातमा फेसबुकमा स्टाटस लेखेर बसेको टिप्पणी गरे । “जनताका प्रश्नमा तगारो बनेपछि मन्त्रीहरूले फेसबुकमा स्टाटस लेख्ने काम गरिरहेका छन्,” उनले भने, “बालेन नेतृत्वको रास्वपा सरकारको अहिलेको काम फेसबुकमा कन्टेन बनाउने मात्र भएको छ । तिहारको रमझमका बेला पनि विभिन्न परिकार अगाडि राखेर मन्त्री महावीर पुनले कन्टेन बनाए ।”
मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्न नसकेको औँल्याउँदै भण्डारीले वर्तमान व्यवस्थामा सबैभन्दा ठूलो प्रहार न्यायपालिकामाथि भइरहेको बताए ।
प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणको प्रसंगमा बोल्दै उनले राष्ट्रिय हित र सीमा सुरक्षाको मुद्दामा सरकार मौन बसेको बताए । भारतले नेपालको हजारौँ हेक्टर जमिन मिचेको दाबी गर्दै भण्डारीले भने, “चुच्चे नक्साअनुरुपका जमिन फिर्ता गर भनेर प्रधानमन्त्री बालेनले भारत भ्रमणका क्रममा भन्न सक्दैनन् ।” सरकारको कार्यशैलीले युवाहरूमा निराशा छाएको र मुलुकले सही गति लिन नसकेको उनको निष्कर्ष थियो ।




प्रतिक्रिया