नेपाली दूतावास लिस्बनको नयाँ अभ्यास : आधिकारिक पत्राचारमा नेपाल संवत्


लिस्बन (पोर्चुगल) । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावासले आफ्ना आधिकारिक सूचना तथा पत्राचारमा विक्रम संवत् र इस्वी संवत्सँगै नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत्को पनि प्रयोग सुरु गरेको छ।

राजदूतावासले २०८३ कात्तिक २७ गते (नोभेम्बर १३, २०२६) जारी गरेको आधिकारिक सूचना पत्रमा ‘ने.सं. ११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ। यससँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगको औपचारिक अभिलेखमा नेपाल संवत्ले पनि स्थान पाएको छ।

यसअघि आयोजित एक कार्यक्रममा नेपाल संवत्का अभियन्ता गंगाबहादुर नेम्कुलले यसको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्त्व र नेपालको राष्ट्रिय पहिचानसँग रहेको सम्बन्धबारे चर्चा गरेका थिए।

उनले नेपाल संवत् नेपालको मौलिक इतिहास र सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण हिस्सा भएकाले विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार, सूचना तथा प्रशासनिक कामकाजमा समेत यसको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

सोही क्रममा नेम्कुलले नेपालको शैक्षिक पाठ्यक्रममा नेपाल संवत्को इतिहास, महत्त्व र प्रयोगसम्बन्धी विषय समावेश गर्नुपर्ने मागसहितको अनुरोधपत्र कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदूत प्रकाशमणि पौडेललाई हस्तान्तरण गरेका थिए।

आफूले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै राजदूतावासले आधिकारिक सूचनामै नेपाल संवत् समावेश गरेकोमा नेम्कुलले खुसी व्यक्त गर्दै नेपाली राजदूतावास लिस्बनप्रति आभार प्रकट गरेका छन्।

उनका अनुसार यो पहल एउटा अतिरिक्त मिति उल्लेख गर्ने सामान्य अभ्यास मात्र होइन, नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवलाई संस्थागत रूपमा सम्मान गर्ने सकारात्मक कदम हो।