२८ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली सम्मेलनमा सहभागी हुन लागेको हो।
टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षतिपूर्ति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विषयमा विश्वव्यापी छलफल भइरहेको छ।
सम्मेलनमा नेपालको तर्फबाट हिमाल तथा हिमनदी संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ।
संसदीय टोलीका नेता तथा समिति सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनले निम्त्याएका चुनौती, संसदीय सहकार्य र क्षेत्रीय साझेदारीका विषयमा छलफल गर्नेछन्। साथै, अन्तर्राष्ट्रिय तहमा गरिएका जलवायुसम्बन्धी प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा पनि उनले सहभागिता जनाउनेछन्।
सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने अन्य सांसदमा आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन्।
सभापति चौधरीका अनुसार संसदीय टोलीको टर्की भ्रमणका लागि संघीय संसद् सचिवालयलाई कुनै आर्थिक भार पर्ने छैन।




प्रतिक्रिया