सरकारको आयु लामो छैन, नयाँ वर्षसम्म टिक्न दिनु हुँदैन : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गर्दै आगामी नयाँ वर्षसम्म पनि सरकारलाई निरन्तरता दिन नहुने बताएका छन्।

एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। आन्दोलनलाई सफल बनाउन आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो।

उनले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन पार्टीको संगठनात्मक संरचना थप मजबुत बनाउनुपर्ने बताए। साथै, सरकारका गतिविधि र त्यसप्रति पार्टीको धारणालाई प्रविधिको माध्यमबाट आम नागरिकसम्म पुर्‍याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

वर्तमान सरकार र सत्तारूढ दलका नेताहरू सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत बस्नेतले लगाए।

‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन। यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन,’ उनले भने।