नेता–कार्यकर्तामाथि ओलीको चेतावनी: भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा रहेर आफ्नै पार्टीका उम्मेदवारलाई मत नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तामाथि तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा आबद्ध भएर पार्टीकै हितविपरीत काम गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। पार्टीको सदस्यता कायम राख्ने तर निर्वाचनमा अन्य दलका उम्मेदवारलाई मत दिने व्यवहार बेइमानी भएको उनको टिप्पणी थियो।

‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ ओलीले भने।

उनले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताबाटै आफ्नै सङ्गठनविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम हुने गरेको भन्दै असन्तुष्टि जनाए। यस्ता गतिविधि देखिएमा अब मौन नबस्न र तत्काल अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन उनले निर्देशन दिए।

पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई जिल्ला तहबाटै कारबाही गरी केन्द्रमा सिफारिस गर्न ओलीले निर्देशन दिएका छन्। प्राप्त सिफारिस र सूचनाका आधारमा केन्द्रले समेत छानबिन गरेर आवश्यक निर्णय लिने उनले बताए।

‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस्। स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइएमा कारबाही गरिहाल्ने गर्नुपर्छ,’ उनले भने।

ओलीले एमाले वैचारिक स्पष्टता, सङ्गठनात्मक अनुशासन र आन्तरिक एकताका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभित्र देखिएका अन्तर्विरोध, असमझदारी र मनमुटाव अन्त्य गर्न पनि उनले निर्देशन दिए।