मधेशमा नयाँ सरकार गठनको आह्वान, मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना


२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार पदबाट दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्ने समयसीमा २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ।

संविधानको धारा १६८ को उपधारा (२) मा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसअघि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु भएको हो।