इस्लामावाद । पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएयता यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘साङ्घाई सहयोग सङ्गठन (एससीओ) सभ्यता संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन् ।
सन् २०२३ मेमा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो ।
परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि अविश्वास रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता यी दुई देशबीच पटक–पटक युद्ध र सैन्य तनाव भएका छन् । यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथिको दुवै देशको दाबी हो ।
सन् २०२५ मेमा कश्मीरमा सशस्त्र बन्दुकधारीले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो । मारिनेमा अधिकांश हिन्दु थिए । भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गरेको थियो ।
घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए । त्यसपछि तनाव बढ्दै जाँदा क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो । उक्त द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एससीओको ढाँचाभित्र आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबीच संवाद प्रवर्द्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ । रासस




प्रतिक्रिया