खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक



काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । 

रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो । 

यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए । 

आलमको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो । रासस