काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले समाजमा आपसी सद्भाव, सांस्कृतिक एकता र सकारात्मक सोचको भावना विकास गर्ने बताएका छन् ।
छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस पर्वले शुद्धता, संयम र निष्ठाको महत्त्वलाई उजागर गर्नुका साथै सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने बताएका हुन् ।
उनले छठ पर्वले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै समाजमा एकता र सद्भाव कायम गर्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।
ओलीले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा कृतज्ञताको भावना र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशा तथा उत्साहको सञ्चार हुनुपर्ने बताएका छन् ।
छठ पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।




प्रतिक्रिया