२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री अत्यधिक शक्तिशाली र राज्यका अन्य निकाय कमजोर तथा निरीह बन्दै गएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकमा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता कमजोर हुँदै गएको दाबी गरे । मन्त्रिपरिषद्, संसद्, न्यायपालिका, प्रहरी प्रशासन, निजामती क्षेत्रदेखि निजी क्षेत्रसम्मका व्यक्ति र संस्थाहरू त्रसित अवस्थामा रहेको उनले बताए ।
‘अहिले जनता अत्यन्तै कमजोर छन् । सरकार पनि भन्दिनँ म, प्रधानमन्त्री अत्यन्तै बलियो हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठक सकेर निवास पुग्न पाउँछ कि पाउँदैन, मन्त्री पनि त्राहिमाम्–त्राहिमाम् छन्,’ विश्वकर्माले भने ।
संसद्मा जनप्रतिनिधिहरूले मन्त्री तथा प्रधानमन्त्रीलाई उपस्थित गराउन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण अंगहरू कमजोर हुँदै गएको बताए । संसद्, न्यायपालिका, प्रहरी प्रशासन, निजामती क्षेत्र, प्राध्यापक, बुद्धिजीवी र निजी क्षेत्रका व्यवसायीसमेत हतोत्साहित भएको उनको दाबी थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे टिप्पणी गर्दै विश्वकर्माले प्रधानमन्त्रीको भ्रमणलाई कुनै एक व्यक्तिको निजी भ्रमण नभई सिंगो नेपालको अन्तर्राष्ट्रिय उपस्थितिका रूपमा लिनुपर्ने बताए । विदेश भ्रमणमा जानुअघि राजनीतिक दल, पूर्वप्रधानमन्त्री, कूटनीतिज्ञ र सम्बन्धित सरोकारवालासँग छलफल तथा परामर्श गर्नुपर्ने उनको धारणा थियो ।
राष्ट्रिय स्वाभिमान र देशको प्रतिष्ठासँग जोडिने विषयमा पर्याप्त तयारी र राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए । पूर्वतयारीबिना तथा हचुवाका भरमा विदेशमा माग राख्दा नेपालको शिर झुक्ने जोखिम रहने उनको भनाइ थियो ।
कांग्रेसको आन्तरिक विवाबारे बोल्दै विश्वकर्माले राजनीतिक दलहरूभित्र देखिएका विभाजन, विमति र अन्तरकलहले पार्टीहरू कमजोर बनेको स्वीकार गरे । कांग्रेसकाे आन्तरिक मतभेद र विवादलाई विधिसम्मत रूपमा समाधान गर्दै पार्टी एकता र संगठन सुदृढीकरणमा जोड दिने उनले बताए । ‘कांग्रेसभित्रकाे आन्तरिक कलह छिट्टै समाधान गर्नेतर्फ लागेका छाैँ,’ उनले भने ।
पार्टीभित्रका सबै विवादलाई सम्मानजनक ढंगले हल गरेर एकता कायम गर्न शीर्ष नेतृत्व प्रतिबद्ध रहेको उनकाे भनाइ छ ।
छिमेकी मुलुक भारतलगायतसँगको सम्बन्धबारे बोल्दै विश्वकर्माले ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई ध्यानमा राखेर कूटनीतिक संवादलाई प्राथमिकता दिनुपर्ने बताए । दुई देशबीचका सीमा, व्यापार तथा राजनीतिक विषयमा उत्पन्न विवादलाई विराेध गरेर वा एकअर्काप्रति आक्रोश व्यक्त गरेर भन्दा पनि कुटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने उनकाे भनाइ छ ।




प्रतिक्रिया