स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो


काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि आमन्त्रण गरेको निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता नपाए पनि जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासमेत राष्ट्रिय दल हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसलाई मध्यनजर गर्दै आयोगले निर्वाचनको मिति र तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलाएको जानकारी दिएका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका थापाले स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा आयोगको निमन्त्रणाबारे जानकारी गराएका हुन् ।