२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। प्रतियोगितामा नेपाली टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।
घोषित टोलीमा कप्तान लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव रहेका छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई पनि छन् । त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतियोगितामा आफ्ना ‘ए’ टोली सहभागी गराउनेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत मैदानमा उतार्न पाउनेछन् । यूएईले यसअघि नै आफ्नो दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएईसँग र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।
प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ ।




प्रतिक्रिया