अमरेश सिंहको मेची–महाकाली पदयात्रा, रवि लामिछानेले गरे शुभारम्भ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।

आज जनकपुरस्थित जानकी मन्दिर परिसरबाट रास्वपा सभापति रवि लामिछानेले पदयात्राको शुभारम्भ गरेका हुन् । मेची नदीको किनारबाट सुरु हुने यात्रा मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने सिंहले बताए ।

पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र नागरिकका वास्तविक समस्या प्रत्यक्ष रूपमा बुझ्नु रहेको उनले बताए ।

‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो । जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ,’ सिंहले भने ।

यात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा नागरिकका कुरा सुन्ने आफ्नो योजना रहेको उनले जानकारी दिए । प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीयसँग छलफल गर्ने तथा आसपासका बस्तीमा समेत पुगेर समस्या र सुझाव सङ्कलन गरिने उनले बताए ।

सिंहले मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी र युवालगायत सबै वर्ग तथा समुदायका नागरिकसँग संवाद गर्ने बताए । विशेषगरी रोजगारी, जनजीविका र स्थानीय तहमा देखिएका समस्यालाई प्राथमिकताका साथ सङ्कलन गरिने उनको भनाइ छ ।

यात्राका क्रममा प्राप्त समस्या र सुझावलाई तीन प्रति तयार पारिने उनले बताए । एउटा प्रति रास्वपा सभापति रवि लामिछानेलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउने र तेस्रो प्रति आफूले राखेर संसद्मा जनताका मुद्दा उठाउने उनको योजना छ ।