३० कात्तिक, काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको नेपाली नागरिकताको विषयलाई लिएर विवाद चर्किएको छ । उनको नागरिकता प्राप्तिको आधारमाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले निष्पक्ष छानबिनको माग गरेको छ ।
अभियानका संयोजक सुनिल सिंहले आनी छोइङ डोल्माको नागरिकता प्राप्तिको प्रक्रियामाथि प्रश्न उठाउँदै यसमा संलग्न व्यक्ति तथा सम्भावित बिचौलियाको भूमिकासमेत अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सिंहले सामाजिक सञ्जालमार्फत आनीका बुबाआमा चीनको कम्युनिस्ट शासनका कारण तिब्बतको खाम क्षेत्रबाट विस्थापित भएर आएको पृष्ठभूमिमा उनले कसरी नेपाली नागरिकता प्राप्त गरिन् भन्ने प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, ‘चिनियाँ कम्युनिस्टहरूले तिब्बतको खाम क्षेत्रबाट लखेटिएका बा आमाबाट जन्मिएकी आनी छोइङ डोल्माको हातमा रातारात नेपाली नागरिकता कसरी? कुन बिचौलियाको पाउमा भेटी चढाएर राष्ट्रियता किनियो, किर्ते गरियो?’
सिंहले राष्ट्रियता र नागरिकताजस्तो संवेदनशील विषयमा कुनै पनि प्रकारको अनियमितता भए त्यसको हिसाबकिताब खोजिने चेतावनीसमेत दिएका छन् ।
के हो आनी छोइङको नागरिकता विवाद?
आनी छोइङ डोल्माले १८ जेठ २०४६ मा ‘छोइङ डोल्मा मुक्तान लामा’ नामबाट वंशजका आधारमा नेपाली नागरिकता लिएकि थिइन् । उनले नागरिकतामा आफ्नो बुबाका रूपमा कान्छाबहादुर लामाको नाम उल्लेख छ ।
उक्त नागरिकताको नम्बर ३१४ रहेको र २०६६ सालमा प्रतिलिपिसमेत लिएको विवरण सार्वजनिक भएको छ ।
उनको नागरिकतामाथि पहिलोपटक २०७६ सालमा प्रश्न उठेको थियो । नागरिकतामा बुबा उल्लेख गरिएका कान्छाबहादुर लामाका छोरा प्रमानसिंह लामाले काठमाडौं प्रहरी परिसरमा निवेदन दिँदै आनीसँग आफ्नो परिवारको कुनै नाता सम्बन्ध नरहेको र आफ्ना बुबाको नामबाट नागरिकता कसरी लिइयो भन्ने विषयमा छानबिन गर्न माग गरेका थिए ।
उक्त निवेदनपछि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग नागरिकता जारी गर्दाको अभिलेख माग गरेको थियो । प्रशासनले नागरिकता जारी गर्दाको अभिलेख रजिस्टरको प्रतिलिपिसमेत उपलब्ध गराएको थियो । तर त्यसपछि अनुसन्धानले निष्कर्ष प्राप्त गर्न सकेन ।
आत्मकथामा के लेखेकी छन् आनीले?
सन् २०११ मा प्रकाशित आफ्नो आत्मकथा ‘फूलको आँखामा’ मा आनी छोइङले आफू काठमाडौंको बौद्धमा जन्मिएको र उनका बुबाआमा सन् १९५० को दशकको मध्यतिर तिब्बतबाट विस्थापित भएर आएको उल्लेख गरेकी छन् ।
उनले आफ्ना बुबाआमा तिब्बतको पूर्वी क्षेत्र खामका फरक–फरक गाउँका रहेको र आफन्तसहित पहिले भारत पुगेको तथा त्यहीँ उनीहरूको भेट भएको प्रसंग पनि पुस्तकमा उल्लेख गरेकी छन् ।
यही आत्मकथामा उल्लिखित पारिवारिक पृष्ठभूमि र वंशजका आधारमा प्राप्त नागरिकताबीचको कानुनी सम्बन्धबारे अहिले प्रश्न उठिरहेको छ ।




प्रतिक्रिया