काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भौगोलिक अवस्थालाई शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको केन्द्र नभई क्षेत्रीय सहकार्य र साझा समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्।
रसियाको राजधानी मस्कोमा सोमबार आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।
भारत र चीनजस्ता दुई ठूला छिमेकीबीच अवस्थित सार्वभौम तथा भूपरिवेष्टित विकासोन्मुख मुलुक नेपालले आफ्नो राष्ट्रिय हित र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई सधैँ प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
विश्व राजनीति संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै प्रचण्डले कुनै पनि राष्ट्रको वास्तविक स्वतन्त्रताका लागि राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वाधीनता अपरिहार्य रहेको बताए।
रसियाको सत्तारुढ दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको उक्त सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधिको सहभागिता रहेको थियो। सम्मेलनमा आयोजक दलका संयोजक भी. याकुशेभले अवधारणापत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए।
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाली जनताको तर्फबाट सम्मेलन आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे।
आर्थिक स्वाधीनताबिना राजनीतिक स्वतन्त्रता अपूर्ण
सम्बोधनका क्रममा प्रचण्डले कुनै पनि राष्ट्रले आफ्नो आर्थिक नीति र विकासका प्राथमिकता आफैँ निर्धारण गर्न नसकेसम्म राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने धारणा राखे।
बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार सबै राष्ट्रमा समान रूपमा रहने उल्लेख गर्दै उनले सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकतामाथि चर्चा गर्दै विकासशील राष्ट्रहरूबीच दक्षिण–दक्षिण सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। सीमित बाह्य वित्तीय केन्द्रमा निर्भर रहनुभन्दा आपसी व्यापार, लगानी र पूर्वाधार विकासमा साझेदारी गरेर विकासशील मुलुकहरूले आफ्नो अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, विश्वव्यापी वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक र उत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिए। आर्थिक जोखिम कम गर्न स्थानीय मुद्रामा व्यापार गर्ने अभ्यास र वैकल्पिक वित्तीय प्रणालीको विकास आवश्यक रहेको धारणा पनि उनले राखे।
औद्योगिकीकरण र प्रविधिमा जोड
प्रचण्डले ग्लोबल साउथका मुलुकहरू कच्चा पदार्थ आपूर्ति गर्ने भूमिकामा मात्रै सीमित हुन नहुने बताए। औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
विकासशील राष्ट्रहरूले आफ्नै उत्पादन क्षमता विस्तार गर्दै आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नेपालको शान्ति प्रक्रिया र रसियासँगको सम्बन्धको चर्चा
सम्बोधनका क्रममा प्रचण्डले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे पनि चर्चा गरे। ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको उनले स्मरण गराए।
यसैगरी, रसियासँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै उनले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
नेपालको भौगोलिक अवस्थालाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धासँग जोडेर हेर्नुभन्दा छिमेकी तथा अन्य राष्ट्रसँगको सहकार्य, आर्थिक साझेदारी र साझा विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने सन्देश प्रचण्डले आफ्नो सम्बोधनमार्फत दिएका छन्।




प्रतिक्रिया