झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा


न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले यसै साता आफूले स्थापना गरेको कम्पनीबाट राजीनामा दिएका छन् । उनीमाथि आफू मातहतका कर्मचारीसहित अन्य महिलासँग सम्बन्ध राखेको र तीमध्ये एक महिला चिनियाँ गुप्तचर निकायसँग आबद्ध हुन सक्ने अमेरिकी अधिकारीहरूको आशङ्का रहेको समाचार सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

तर, जासुसी, झुट र यौन सम्बन्धसँग जोडिएका सनसनीपूर्ण समाचारले अमेरिकाको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनीसँग सम्बन्धित गम्भीर विषयलाई ओझेलमा पार्न सक्ने जोखिम छ । यस प्रकरणसँग अमेरिका–चीन प्रविधि प्रतिस्पर्धा, राष्ट्रिय सुरक्षा र एआई क्षेत्रमा भइरहेको विशाल लगानी जस्ता महत्त्वपूर्ण विषय पनि जोडिएका छन् । यस प्रकरणका अन्य महत्त्वपूर्ण पक्ष यस्ता छन्:

  • चीनमा चिप बेच्न एनभिडियाको प्रयास

जेन्सेन हुआङ लामो समयदेखि चीनमा अमेरिकी चिप बिक्री गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका थिए । सन् २०२५ मा मिल्केन इन्स्टिच्युटको वार्षिक सम्मेलनमा बोल्दै उनले चीनको एआई चिप बजार भविष्यमा ५० अर्ब डलरको हुने बताएका थिए । उनले उक्त बजारको आकार बोइङ कम्पनीजत्तिकै ठुलो हुने उल्लेख गरेका थिए ।

तर, अमेरिकी सरकारको दृष्टिकोण फरक थियो । तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनले अमेरिकी प्रविधि प्रयोग गरेर आफ्नो सैन्य क्षमता र एआई प्रणाली विकास नगरोस् भन्ने उद्देश्यले चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी निर्यात नियमअनुसार चीनमा बिक्री गर्न मिल्ने गरी एनभिडियाले कम क्षमताको विशेष चिप विकास गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले त्यसको बिक्रीमा समेत प्रतिबन्ध लगाएको थियो । त्यसबेला एनभिडियाले उक्त प्रतिबन्धका कारण कम्पनीलाई ५ अर्ब ५० करोड डलरको आर्थिक क्षति हुने बताएको थियो ।

यद्यपि, हुआङ र राष्ट्रपति ट्रम्पबिच निकट सम्बन्ध रहँदै आएको थियो ।

रोयटर्सका अनुसार यसै वर्षको सुरुतिर अमेरिकी सरकारले एनभिडियाको शक्तिशाली एच२०० चिप खरिद गर्न १० चिनियाँ कम्पनीलाई अनुमति दिएको थियो ।

  • मेगास्पिडमाथि अमेरिकी सरकारको अनुसन्धान

यस प्रकरणमा अर्को महत्त्वपूर्ण नाम सिंगापुरमा मुख्यालय रहेको कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङको हो । उनी एनभिडियाकी ग्राहक कम्पनी मेगास्पिडमा कार्यरत थिइन् । अमेरिकी सरकारले जेन्सेन हुआङसँग उनको प्रेम सम्बन्ध रहेको र उनी चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको हुन सक्ने आशङ्का गरेको थियो ।

मेगास्पिडमाथि अमेरिकी निर्यात नियन्त्रण उल्लङ्घन गर्दै अत्याधुनिक अमेरिकी सेमिकन्डक्टर चीनका विभिन्न संस्थासम्म पुर्‍याएको हुन सक्ने विषयमा अनुसन्धान भइरहेको छ । केही विश्लेषकका अनुसार कम्पनीले एनभिडियाका चार अर्ब डलरभन्दा बढी मूल्यका चिप खरिद गरिसकेको छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूले महिनौँदेखि मेगास्पिडमाथि निगरानी गरिरहेका थिए । अमेरिकी अर्थ मन्त्रालयका केही अधिकारीहरूले चीनमा अत्याधुनिक चिप पुर्‍याएको आशंकामा मेगास्पिडलाई वाणिज्य मन्त्रालयको प्रतिबन्धित कम्पनीहरूको सूचीमा राख्नुपर्ने धारणा राखेका थिए ।

Jensen Huang 2

तर, कम्पनीलाई प्रतिबन्धित सूची अर्थात् ‘एन्टिटी लिस्ट’ मा राख्ने विषयमा वाणिज्य मन्त्रालयले ढिलाइ गरेको थियो । मन्त्रालयका सचिव हावर्ड लटनिकलाई जेन्सेन हुआङ र एलिस हुआङबीचको सम्बन्धबारे महिनौँअघि नै जानकारी गराइएको भए पनि कारबाही अघि नबढाइएको स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

मेगास्पिडले भने आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गरेको छ । कम्पनीले आफू कानुन पालना गर्ने र वैधानिक रूपमा सञ्चालन भइरहेको संस्था भएको बताएको छ ।

एनभिडियाले सन् २०२५ अप्रिलपछि अमेरिकी व्यापार प्रतिबन्धका कारण चीनमा आफ्नो व्यावसायिक कारोबार शून्यमा झरेको बताएको छ ।

  • वाणिज्य सचिव लटनिकमाथि प्रश्न

मेगास्पिडलाई प्रतिबन्धित कम्पनीको सूचीमा नराख्ने वाणिज्य मन्त्रालयको निर्णयले ट्रम्प प्रशासनभित्रै विवाद सिर्जना गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सार्वजनिक रूपमै वाणिज्य सचिव लटनिकको मन्त्रालयले मेगास्पिडलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मान्ने निर्णय गर्न आलटाल गरेको आरोप लगाएका छन् ।

यस विवादपछि लटनिकलाई पदबाट हटाउने विषयमा समेत प्रशासनभित्र छलफल भएको स्रोतहरूले बताएका छन् ।

तर, ट्रम्पले आफ्ना पुराना मित्र लटनिकलाई अझै समर्थन गरेका छन् । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई लटनिक र उनको कार्यक्षमतामाथि पूर्ण विश्वास रहेको जनाएको छ । लटनिकले अमेरिकी सिनेटको बैंकिङ समितिसमक्ष स्वेच्छाले बयान दिने भएका छन् ।

Jensen Huang 3
  • सुपर माइक्रो कम्प्युटर पनि अनुसन्धानको घेरामा

यस प्रकरणमा अनुसन्धानको घेरामा परेको अर्को कम्पनी सुपर माइक्रो कम्प्युटर हो । गत मार्चमा क्यालिफोर्नियास्थित यस कम्पनीका संस्थापकलाई एनभिडियाका चिप जडित २ अर्ब ५० करोड डलर मूल्यका सर्भर तस्करी गरी चीन पुर्‍याएको आरोप लगाइएको थियो । यो अमेरिकी निर्यात कानुनको उल्लङ्घन हो । अभियोगपत्रमा कम्पनीको नाम उल्लेख नगरिए पनि कम्पनीले आरोपित तीन व्यक्तिविरुद्ध भइरहेको अनुसन्धानमा आफूले पूर्ण सहयोग गरिरहेको जनाएको थियो । यस घटनाले कडा अमेरिकी निर्यात प्रतिबन्ध हुँदाहुँदै पनि एनभिडियाका चिप चीनसम्म पुगिरहेको देखाएको छ ।

  • एआईको उछालमा एनभिडिया र वालस्ट्रिटको ठुलो लगानी

यस प्रकरणको सबैभन्दा ठुलो आर्थिक पक्ष एआई उद्योगमा भइरहेको विशाल लगानीसँग जोडिएको छ । एआई क्षेत्रमा ठुलो परिमाणमा पैसा प्रवाह भइरहेको छ । कतिपय विश्लेषकले यसलाई ‘सर्कुलर फाइनान्सिङ’ अर्थात् एकअर्कासँग जोडिएका कम्पनीबीच घुमिरहने लगानीको संज्ञा पनि दिएका छन् ।

यसमा एनभिडिया प्रमुख वित्तीय साझेदारमध्ये एक हो । गत गर्मीयाममा कम्पनीले अपोलो, ब्ल्याक रक, ब्ल्याकस्टोन, ब्रुकफिल्ड, गोल्डम्यान स्याक्स र केकेआरजस्ता ठुला वित्तीय संस्थासँग मिलेर पाँच खर्ब डलरभन्दा बढी ऋण लगानी गर्ने योजना अघि सारेको थियो । उक्त रकम एआई पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।

त्यसैगरी, एनभिडियाले यसै वर्ष ओपनएआईको विशाल डेटा सेन्टर निर्माणका लागि १०५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।

एनभिडियाको लगानी रणनीतिअनुसार उसले विभिन्न कम्पनीसँग आर्थिक साझेदारी गर्ने र ती कम्पनीले पुनः एनभिडियाकै उत्पादन खरिद गर्ने गरेका छन् । कम्पनीको यस्तो व्यावसायिक रणनीतिमाथि पनि अहिले प्रश्न उठ्न थालेको छ ।

विशेषगरी, हुआङजस्ता प्रभावशाली नेतृत्वकर्ताको अनुपस्थितिमा यस्ता सम्झौता र लगानीको भविष्य कस्तो हुन्छ भन्ने प्रश्न उठेको छ ।

के हुआङले लगानीकर्तालाई झुट बोलेका थिए ?

यस प्रकरणमा अझै अनुत्तरित रहेको एउटा महत्त्वपूर्ण प्रश्न होः के हुआङले एलिस हुआङसँगको सम्बन्धबारे आफ्नो कम्पनीको सञ्चालक समिति र लगानीकर्तालाई गलत जानकारी दिएका थिए ? केही लगानीकर्ताले उनले सत्य लुकाएको आशङ्का गरेका छन् । सोमबार दायर गरिएको एक सेयरधनीको मुद्दामा एलिस हुआङसँगको सम्बन्धबारे सोध्दा जेन्सेन हुआङले भ्रामक जवाफ दिएको आरोप लगाइएको छ ।

पूर्वसीईओ हुआङले अन्य कानुनी प्रक्रियाबाट पनि जबाफदेही हुनुपर्ने अवस्था आउन सक्छ । अमेरिकी संसद्ले पनि यस प्रकरणबारे जवाफ मागिरहेको छ । अमेरिकी सिनेटको बैंकिङ समितिका अध्यक्षका अनुसार हुआङले स्वेच्छाले बयान नदिए उनलाई बयानका लागि उपस्थित गराउन संसदले नै अदालतीमा बुझाउन आदेश जारी गर्ने (समन)को तयारीसमेत गरिएको छ ।

रमलशाह मरुफ, सिएनएनबाट