काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिरी राज्यको राजस्वमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई मंगलबार विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
विभागका अनुसार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् भने संस्थागततर्फ सूर्य नेपाल प्रालिले सर्वोत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ ।
यस वर्ष सम्मानित हुने करदातामा उद्योग, व्यापार, सेवा, वित्तीय तथा बीमा क्षेत्रका विभिन्न संस्था रहेका छन् । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र विशेष उद्योगतर्फ बरुण बेवरेज नेपाल प्रालि सम्मानित भएका छन् । एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनलले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।
त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबि फुड्स प्रालि, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएका छन् । सूचना प्रविधि सेवा निर्याततर्फ इनफाईनाई सर्भिसेज उत्कृष्ट करदाता बनेको छ ।
वित्तीय तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाएको छ । बीमा व्यवसायअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ बीमा कम्पनी सम्मानित भएका छन् । लघुवित्ततर्फ छिमेकी लघुवित्त तथा रेमिटेन्स र मनी ट्रान्सफरतर्फ आइएमई लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।
कारोबारको आकारका आधारमा छुट्याइएका समूहमा वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीतर्फ इम्पेरियल सेक्युरिटी प्रालि र ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड खण्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएका छन् ।
सेवा क्षेत्रअन्तर्गत पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेड तथा स्वास्थ्य र शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेका छन् । त्यसैगरी, मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिस्टिलरी प्रालि उत्कृष्ट करदाता बनेको छ ।
यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिएको, रोजगारी सिर्जना गरेको र राज्यको राजस्वमा योगदान पुर्याएको भन्दै कम्पनीलाई विशेष सम्मान प्रदान गरिएको विभागले जनाएको छ ।
यी हुन् उत्कृष्ट करदाता
-निकायहरूतर्फ: सूर्य नेपाल प्रालि
– एकलौटी फर्मतर्फ: थर्ड आई इन्टरनेशनल
– वस्तु निर्याततर्फ: डाबर नेपाल प्रालि
– सूचना प्रविधि सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
– कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड्स प्रालि
– बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक लिमिटेड
– स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
– पर्यटन व्यवसायतर्फ: सोल्टी होटल लिमिटेड
– वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स प्रालि
– ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी प्रालि
– रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड
– व्यक्तिगत आयतर्फ: राजबहादुर शाह
– मूल्य अभिवृद्धि करतर्फ: हिमालयन डिष्टिलरी लिमिटेड
– विशेष उद्योगतर्फ: वरुण बेभरेज नेपाल प्रालि
– जीवन बीमा क्षेत्रतर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड
– निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
– लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
– विशेष सम्मानतर्फ: भाटभटेनी सुपर मार्केट
– ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड
– ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि




प्रतिक्रिया