माछापुच्छ्रे बैंक र ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’सँग सहकार्य गर्दै रेमिट्यान्स सेवा सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले दुवै संस्थाबीच सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतापछि विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप सेन्ड’को मोबाइल एपमार्फत नेपालमा सहजै रकम पठाउन सक्नेछन् ।

यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबीएल रेमिट’मार्फत प्राप्त गर्न सकिनेछ । सेवाग्राहीले नगद भुक्तानी लिनुका साथै माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, देशभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट समेत पठाइएको रकम नगदका रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सहकार्यले अन्तर्राष्ट्रिय विप्रेषण कारोबारलाई थप सहज र पहुँचयोग्य बनाउनुका साथै डिजिटल माध्यमबाट रकम पठाउने सेवाको विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसबाट विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले सुरक्षित, सरल र प्रभावकारी रूपमा नेपालमा रकम पठाउने सुविधा पाउने बैंकको विश्वास छ ।