काठमाडौँ । नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र विज्ञहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले उच्चस्तरीय भ्रमणमा जानुअघि आन्तरिक रूपमा सर्वपक्षीय छलफल गरेर जाँदा भारतको उच्च तहमा नेपालले साझा धारणा बनाएर आएको सकारात्मक सन्देश जाने बताए ।
‘प्रम बालेन भारत भ्रमणमा जानुअघि पूर्वप्रम, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरूको बैठक गरेर जाँदा भारतीय पक्षसँग वार्ता गर्दा सबैसँग संवाद गरेर आएको भन्ने अनुभूति गराउन सकिन्छ, त्यसले वार्तालाई अझ प्रभावकारी बनाउँछ,’ उनले भने । नेपाल-भारत सम्बन्ध व्यापक र बहुआयामिक भएकाले एउटै भ्रमणबाट सबै विषय टुंग्याउन कठिन हुने उल्लेख गर्दै उनले सरकारले आफ्ना प्राथमिकताका एजेन्डा स्पष्टरूपमा तोक्नुपर्नेमा जोड दिए ।
जेन-जी आन्दोलन, त्यसपछिका गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई तिहाइको सरकार बनेको परिवर्तित राजनीतिक अवस्थालाई भारतले नजिकबाट नियालिरहेको भट्टराईको विश्लेषण छ । रास्वपा नेतृत्वको नयाँ सरकारले भारतसँग कस्ता विषय अघि बढाउन खोजेको हो भन्नेमा भारतीय पक्षको चासो रहेको उनले बताए ।
तर, प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्तिले कूटनीतिक संवेदनशीलता नअपनाएको भन्दै उनले आलोचना गरे । ‘देशभित्र भन्न नहुने कुरा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिल्लीमा गएर भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्नुभयो,’ भट्टराईले भने, ‘अर्कोतर्फ प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि नेपालले मिचेको भनेर अभिव्यक्ति दिनुभयो, जबकि भारतको कुनै पनि व्यक्तिले नेपालले हाम्रो जमिन मिच्यो भनेको छैन र त्यस्तो नेपालले मिचेको कुनै प्रमाण पनि छैन ।’ सीमामा भारतले अप्ठेरो पारिरहेको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्रीबाटै यस्ता अभिव्यक्ति आउँदा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्नेमा सोचेर बोल्नुपर्ने उनको भनाइ छ ।
सीमासम्बन्धी विवादमा भारत रिसाउँछ कि भनेर डराउन नहुने भट्टराईले स्पष्ट पारे । सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वीभाग नेपालको भएकाले ‘चुच्चे नक्सा’मा समेटिएको भू-भाग नेपालकै रहेको उनले दोहोर्याए ।
‘ईपीजी (प्रबुद्ध व्यक्ति समूह) को प्रतिवेदनमा दुवै देशका प्रतिनिधिले सर्वसम्मत हस्ताक्षर गरेका हुन्, तर भारतले त्यो प्रतिवेदन बुझ्न हिचकिचाहट गरिरहेको छ । यस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ,’ उनले भने ।
नेपालको तराईमा भारतका कारण हुने डुबान समस्या र असमान सन्धि-सम्झौता पुनरावलोकनका विषयमा रास्वपा सरकारको धारणा अझै स्पष्ट नभएको उनले टिप्पणी गरे । साथै, नेपालको भू-भागबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध गतिविधि हुन नदिई विश्वासको सम्बन्ध कायम राख्नुपर्नेमा उनले जोड दिए ।
नेपालले भारतसँग असाधारण व्यापार घाटा बेहोरिरहेको चर्चा गर्दै भट्टराईले रेमिट्यान्सले मात्रै सधैँ यसको क्षतिपूर्ति हुन नसक्ने बताए । ‘युवाहरूलाई रोजगारी दिएका साउदी, कतारजस्ता देशमा आक्रमणको अवस्था सिर्जना भएको छ । त्यहाँ उद्योगधन्दा बन्द भएर युवा कामविहीन भई स्वदेश फर्किनुपरे व्यापार घाटाको क्षति कसरी परिपूर्ति गर्ने ?’ उनले प्रश्न गरे ।
व्यापार घाटा कम गर्न द्विपक्षीय विद्युत् साझेदारी र आदानप्रदानको सम्झौता भए पनि भारतले आफूले भनेको कम्पनी वा व्यक्तिले लगानी गरेको विद्युत् मात्र किन्ने भन्दै ‘अत्तो थापेको’ उनले आरोप लगाए । यो विषयलाई समाधान गर्नुपर्ने उनको सुझाव छ ।
विगतमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्दै भट्टराईले भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्पछिको पुनर्निर्माणका लागि पनि भारतबाट सहयोग जुटाउन प्रधानमन्त्रीको भ्रमणमा पहल गर्नुपर्ने उनले सुझाव दिए ।




प्रतिक्रिया