प्रम बालेनले भारत भ्रमणमा आर्थिक कूटनीतिमा जोड दिनुपर्छ : धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले ‘जेनजी आन्दोलन’ र फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै यो भ्रमण छोटो भए पनि ऐतिहासिक र उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल र भारतबीच रोटीबेटी, धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै धमलाले विगतका प्रधानमन्त्रीहरूको भारत भ्रमण राजनीतिक र सीमाका विषयमा मात्र केन्द्रित हुने गरेको टिप्पणी गरे । ‘पहिलेका भ्रमणमा भारतीय लगानीकर्ता नेपालमा कसरी भित्र्याउने भन्ने विषय खासै एजेन्डा बनेनन्,’ उनले भने, ‘तर यसपटक प्रधानमन्त्री बालेनले आर्थिक कूटनीतिमा जोड दिनुपर्छ । भारतको सहयोगबिना नेपालमा आर्थिक क्रान्ति असम्भव छ ।’

भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले खर्बौँ लगानी गर्न चाहेको उल्लेख गर्दै धमलाले प्रधानमन्त्री शाहले उक्त विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए । विगतमा आफू धेरै प्रधानमन्त्रीहरूसँग भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि दुईपटक नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी गरेको स्मरण गर्दै उनले यसपटक मोदीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर प्रधानमन्त्री शाहलाई स्वागत गर्नु सकारात्मक हुने बताए । यसअघि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि विमानस्थलमै स्वागत गरिएको उनले स्मरण गरे ।

धमलाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानहरूको नियमित उडानका लागि भ्रमणमा एजेन्डा बनाउनुपर्नेमा जोड दिए । ‘भारतका ५० लाख पर्यटक प्रत्येक वर्ष नेपाल भित्र्याउन सके नेपालको विकासमा कायापलट हुनेछ,’ उनले भने, ‘कृषि, पर्यटन, ऊर्जा र रोजगारीका क्षेत्रमा नेपाललाई खुला हृदयले सहयोग गर्न भारत तयार छ ।’

भ्रमणका क्रममा रक्सौल–काठमाडौँ रेलमार्ग र पूर्व–पश्चिम रेलमार्ग निर्माणका विषयमा ठोस पहल गर्न धमलाले सुझाव दिए । दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन भारतीय प्रधानमन्त्री मोदीलाई वर्षमा एकपटक नेपाल बोलाउनुपर्ने र नेपालका प्रधानमन्त्री पनि वर्षमा एकपटक भारत भ्रमणमा जानुपर्ने उनको धारणा छ ।

भारतले नेपालमा लोकतन्त्र र विधिको शासन चाहेको उल्लेख गर्दै धमलाले प्रधानमन्त्री शाह राष्ट्रिय सहमतिका साथ दिल्ली जानुपर्ने बताए । भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूसँग व्यापक छलफल गर्न सुझाव दिँदै उनले प्रधानमन्त्री शाहले देश र जनताकै हितमा काम गर्ने विश्वास व्यक्त गरे ।