काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा काठमाडौंको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा उद्घाटन हुँदैछ । भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू कार्यक्रमस्थलमा भेला भइरहेका छन् ।
भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने बताइएको छ । अध्यक्ष केपी शर्मा ओली उद्घाटन समारोहमा सहभागी हुन कार्यक्रमस्थल पुगिसकेका छन् । अहिले प्रतिनिधिहरूको हाजिरी तथा परिचयपत्र वितरण भइरहेको छ ।
भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ पनि सहभागी छन् । विजयलाल श्रेष्ठ नेकपा संस्थापक महासचिव पुष्पलालका भाइ हुन् ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको हो । स्थानीय कमिटीदेखि केन्द्रीय तह, संसद् तथा पालिकाका प्रतिनिधिहरू सहभागी हुने यो भेला पार्टीका विभिन्न तहबीच राजनीतिक धारणा र कार्यदिशामा एकरूपता कायम गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्दै राष्ट्रिय राजनीतिक निकास, पार्टीको आगामी रणनीति र स्थानीय तह निर्वाचनको तयारीबारे भेलामा बहस हुने छ । साथै, पार्टीको राजनीतिक लाइनबारे प्रशिक्षणमार्फत नेता तथा कार्यकर्तालाई एकीकृत धारणा र ऊर्जा प्रदान गर्ने तयारी छ ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामको जिम्मेवारी र कार्यसम्पादनबारे पनि भेलामा छलफल हुने जनाइएको छ ।
भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन् ।
भेलाको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसपछि वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीमा औपचारिक पुनरागमनपछि भण्डारीको यो पहिलो विशेष सम्बोधन हुनेछ ।
त्यस्तै, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया