सरकारमाथि ओलीको कटाक्ष : ‘समाज उल्टो बाटोतिर धकेलिँदै छ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आलोचना गर्दै समाज उल्टो दिशातर्फ अघि बढिरहेको र सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले संस्कृति, सभ्यता र सामाजिक मूल्यमान्यतामाथि प्रहार भइरहेको दाबी गरे । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताका समस्या समाधानमा प्रभावकारी काम हुन नसकेको बताए ।

‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौँ पैसा जम्मा भएको छ, त्यो पैसा थन्किएर बसेको छ, पीडितहरू दुःखमा पिल्सिरहेका छन्,’ ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन । शिक्षा बिग्रँदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदनामा शिशुलाई जन्म दिनुपर्ने अवस्था छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिकामाथि पनि प्रश्न उठाए । राज्यका विभिन्न अंग तथा निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै उनले राष्ट्रिय स्वाधीनता, अस्मिता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

उनले जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी देशमा विध्वंस मच्चाइएको दाबीसमेत गरे ।