३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दोस्रो क्वालिफायरअन्तर्गत हुने यस खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै उपाधि भिडन्तमा पुग्नु हुनेछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान बनाएको थियो।
अर्कोतर्फ, चितवन राइनोजले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। बुधबार भएको उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको चितवनले काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो।
अब आजको खेलमा जित निकाल्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसैले चितवन र सुदूरपश्चिम दुवैका लागि आजको खेल फाइनल पुग्ने अन्तिम अवसरका रूपमा रहेको छ।




प्रतिक्रिया