रास्वपाभित्रको द्वन्द्व बढ्दै गएको छ, बालेनले संसद् विघटन गर्न सक्छन् : वर्षमान पुन


३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक द्वन्द्व चर्किँदै गएको टिप्पणी गरेका छन् ।

दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले रास्वपाभित्रको संघर्षले कुनै पनि बेला पार्टी विभाजन हुन सक्ने अवस्था देखिएको बताएका हुन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीचको शक्ति संघर्षले अप्रत्याशित मोड लिन सक्ने भन्दै प्रधानमन्त्रीले सभापति लामिछानेलाई पक्राउ गर्नेदेखि सभापतिले प्रधानमन्त्रीलाई विस्थापित गरेर आफैँ सरकारको नेतृत्व गर्नेसम्मका सम्भावना औँल्याए ।

‘अहिले उनीहरूको संघर्ष एकपछि अर्को बढिराखेको छ,’ पुनले भने, ‘कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन । कुनै पनि बेला प्रधानमन्त्रीले सभापति रविलाई थुने भने पनि आश्चर्य मान्नुपर्दैन । कुनै बेला प्रधानमन्त्रीलाई सभापतिले टेकओभर गरेर आफू प्रधानमन्त्री भए पनि आश्चर्य मान्नुपर्दैन ।’

नेता पुनले प्रधानमन्त्री बालेनले पार्टी सभापति लामिछानेसँगको संघर्ष व्यवस्थापन गर्न संसद् विघटन गरेर मध्यावधि निर्वाचनतर्फ जाने प्रयास गर्न सक्ने आशंकासमेत व्यक्त गरे ।

‘आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्नको लागि संसद् विघटन गर्ने, मध्यावधितिर जाने तर मध्यावधि नगर्ने र एक रूपले लिने, जो २३–२४ गते थियो नि !’ उनले भने ।