काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट अतिरिक्त शुल्कका नाममा रकम असुलेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बिहीबार प्रहरीको मागअनुसार उनीहरूलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुँवर र यादवलाई बुधबार पक्राउ गरेको थियो ।
यस प्रकरणमा तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङसमेत पक्राउ परेका छन् । तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
नेपाल र मलेसिया सरकारबीच भएको श्रमसम्बन्धी सम्झौताको गलत व्याख्या गर्दै म्यानपावर कम्पनीमार्फत कामदारबाट अतिरिक्त रकम असुलिएको र उक्त रकम मिलेमतोमा मलेसिया पठाइएको उनीहरूमाथि आरोप छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने करिब साढे सात लाख नेपाली कामदारबाट साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरिएको खुलेको छ । संकलित रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ श्रम मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहयोगमा बैंकिङ प्रणालीमार्फत नै मलेसिया पठाइएको अनुसन्धानबाट देखिएको छ ।




प्रतिक्रिया