३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा पुगेको छ । यस्तै, लगातार दोस्रो सिजन लुम्बिनी र सुदूरपश्चिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको थियो ।
चालु सिजनको लिग चरणमा पनि लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुई स्थानमा रहेका थिए । लुम्बिनी ११ अंकसहित पहिलो र सुदूरपश्चिम १० अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।
लिग चरणपछि भएको पहिलो क्वालिफायरमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनीले सहज जित निकाल्दै सोझै फाइनलमा स्थान बनाएको थियो । यता, दोस्रो क्वालिफायरमा चितवनलाई हराएपछि सुदूरपश्चिमले पुनः लुम्बिनीसँग उपाधि भिडन्त गर्ने अवसर पाएको हो ।
यस सिजन यी दुई टोलीबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेलमा लुम्बिनी विजयी भएको छ । अब फाइनलमा हुने प्रतिस्पर्धा उनीहरूबीचको यस सिजनको तेस्रो भिडन्त हुनेछ ।
सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको टोली दोस्रो संस्करणमा लुम्बिनीसँग उपविजेतामा सीमित भएको थियो । यसपटक भने सुदूरपश्चिम पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ ।




प्रतिक्रिया