सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच चीनको सेन्जेनमा बिहीबार भएको त्रिपक्षीय भेटले विश्व राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । विश्वका तीन प्रमुख शक्तिका नेताहरू एउटै टेबलमा बसेर छलफल गरेको यो अभूतपूर्व भेटलाई तत्काल कुनै ठोस सम्झौता गर्नेभन्दा पनि शक्ति प्रदर्शन, कूटनीतिक सम्बन्ध विस्तार र विश्व व्यवस्थामा आफ्नो प्रभाव देखाउने अवसरका रूपमा हेरिएको छ ।
चीनको सेन्जेनस्थित सरकारी अतिथि गृहमा भएको बैठकमा तीनै नेताले बदलिँदो विश्व परिस्थितिलाई व्यवस्थापन गर्न प्रमुख शक्तिहरूबिच सहकार्य आवश्यक रहेको बताएका थिए । बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति सीले भने, ‘इतिहासले देखाएको छ, जब ठुला शक्तिहरूबिच शान्ति हुन्छ, विश्व सुरक्षित हुन्छ । जब ठुला शक्तिहरूबिच द्वन्द्व हुन्छ, विश्व अराजकतामा फस्छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि तीन देशका नेताहरू एकै ठाउँमा भेला हुनु आफैँमा ऐतिहासिक भएको बताए । ‘हामी इतिहास निर्माण गरिरहेका छौँ । हामी तीनै जनासँग छलफल गर्नुपर्ने धेरै विषय छन्,’ उनले भने ।
यद्यपि, तीन देशबिच युद्ध, अर्थतन्त्र, आणविक हतियार नियन्त्रण र अत्याधुनिक प्रविधिजस्ता विषयमा गम्भीर मतभेद रहेकाले ८१ मिनेटको बैठकबाट कुनै ठुलो सहमति हुने अपेक्षा गरिएको थिएन । बैठकपछि पनि त्यस्तो कुनै निर्णायक सहमति सार्वजनिक भएन । तर, तीन शक्तिका नेताहरूबिच प्रत्यक्ष संवाद हुनु नै यस भेटको प्रमुख उपलब्धि मानिएको छ ।
तीन नेताका फरक–फरक स्वार्थ
सेन्जेनमा भएको भेटलाई तीनै नेताले आ–आफ्नो राजनीतिक तथा कूटनीतिक स्वार्थ पूरा गर्ने अवसरका रूपमा प्रयोग गरेका छन् । रुसी राष्ट्रपति पुटिनका लागि यो अन्तर्राष्ट्रिय मञ्चमा पुनः प्रभावशाली रूपमा उपस्थित हुने अवसर थियो । युक्रेनमाथि रुसले आक्रमण गरेपछि करिब पाँच वर्षदेखि पश्चिमा देशहरूले उनलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गर्दै आएका थिए । तर, चीन र अमेरिकाका राष्ट्रपतिसँग एउटै टेबलमा बसेर छलफल गर्दा पुटिनले आफू अझै विश्व राजनीतिमा प्रभावशाली रहेको सन्देश दिन सके ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा सरकारी अधिकारीहरूको उन्मुक्तिलाई ‘आधारभूत महत्त्वको विषय’ भनिएको छ । यो विषय अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएका पुटिनका लागि विशेष महत्त्वको मानिएको छ ।
चिनियाँ राष्ट्रपति सीका लागि भने चीनलाई विश्व कूटनीतिको प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्ने अवसर बन्यो । घरेलु आर्थिक समस्यासँग जुधिरहेको चीनले अमेरिकासमेत आफ्नो बराबरीमा बसेर संवाद गर्नुपर्ने शक्तिका रूपमा आफूलाई स्थापित गर्न खोजेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पका लागि पनि यो भेट राजनीतिक रूपमा महत्त्वपूर्ण थियो । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठुलो क्षति व्यहोरेपछि उनको राजनीतिक प्रभाव कमजोर भएको चर्चा भइरहेको छ । यस्तो अवस्थामा चीन र रुसजस्ता शक्तिशाली देशका नेताहरूसँगको भेटले उनी अझै विश्व राजनीतिमा सक्रिय र प्रभावशाली रहेको देखाउने अवसर प्रदान गरेको छ ।
युक्रेन युद्ध र आणविक हतियार नियन्त्रण मुख्य चासो
तीन नेताबीचको छलफलमा युक्रेन युद्ध पनि महत्त्वपूर्ण विषय थियो । पुटिनले सुरुमा युक्रेन युद्धबारे छलफल गर्ने उद्देश्यले यो त्रिपक्षीय बैठकको प्रस्ताव गरेका थिए । तर, उक्त बैठकमा युक्रेनका प्रतिनिधिलाई सहभागी नगराइएको विषयले युक्रेन र युरोपेली देशहरूमा चिन्ता बढाएको थियो ।
यसलाई सन् १९४५ को याल्टा सम्मेलनसँग समेत तुलना गरिएको छ । दोस्रो विश्वयुद्धपछि प्रमुख शक्तिहरूले युरोपको राजनीतिक भविष्य र प्रभाव क्षेत्रबारे गरेको याल्टा सम्मेलनमा प्रभावित देशहरूको प्रत्यक्ष सहभागिता थिएन । सेन्जेन बैठकलाई पनि युक्रेनको भविष्यबारे उसको अनुपस्थितिमा ठुला शक्तिहरूले निर्णय गर्न सक्ने सम्भावनासँग जोडेर हेरिएको छ ।

यद्यपि, अमेरिकी अधिकारीहरूले सुरुमा युक्रेन बैठकको कार्यसूचीमा नरहेको बताएका थिए । ट्रम्पले भने बैठकमा युक्रेन युद्धको विषय उठाउने बताएका थिए ।
ट्रम्पका लागि आणविक हतियार नियन्त्रण पनि महत्त्वपूर्ण विषय थियो । उनले अमेरिका, रुस र चीनबिच नयाँ आणविक अप्रसार सम्झौता गर्न चाहेको बताएका छन् । तर, चीनको आणविक हतियार भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो भएकाले सी यस्तो सम्झौतामा सहभागी हुन इच्छुक देखिएका छैनन् ।
ट्रम्पले आणविक हतियार प्राप्त गरिसकेपछि त्यसलाई त्याग्न निकै कठिन हुने टिप्पणीसमेत गरेका थिए ।
इरान र युक्रेन युद्ध अन्त्य गराउने प्रयास
ट्रम्पले रुस र चीनसँग इरान तथा युक्रेन युद्धबारे पनि छलफल गर्न चाहेका थिए । इरान र रुससँग दुवै देशको सम्बन्ध रहेकाले युद्ध अन्त्यका लागि उनीहरूको भूमिका महत्त्वपूर्ण हुन सक्ने अमेरिकी पक्षको अपेक्षा छ ।
इरान युद्धले अमेरिकी सैन्य स्रोतमा दबाब सिर्जना गर्नुका साथै विश्व बजारमा मूल्यवृद्धि गराएको छ । ट्रम्पले सुरुमा इरान युद्ध छ साताभित्र समाप्त हुने बताएका थिए । तर, युद्ध लम्बिँदै जाँदा अमेरिकाभित्र पनि उनको निर्णयप्रति असन्तुष्टि बढेको छ ।
इरान युद्धकै कारण इन्धन तथा अन्य वस्तुको मूल्य बढेपछि ट्रम्प प्रशासनले रुसमाथि लगाइएका डिजेलसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाएको थियो । यसबाट रुसलाई अप्रत्यक्ष रूपमा आर्थिक लाभ पुगेको विश्लेषण गरिएको छ ।
युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको चुनावी वाचा पनि पूरा भएको छैन । राष्ट्रपतिको पदभार ग्रहण गरेको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने बताएका ट्रम्पको उक्त वाचा कार्यान्वयन हुन सकेको छैन ।
बर्लिनमा आयोजित ‘कोलिसन अफ द विलिङ’ बैठकमा सहभागी ट्रम्पका ज्वाइँ जारेड कुश्नरले सेन्जेन बैठकबाट ट्रम्प शान्ति सम्भव रहेको विश्वासका साथ बाहिरिएको बताएका थिए । ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि युक्रेन युद्धको शान्तिपूर्ण अन्त्यलाई ट्रम्पले बैठकको प्रमुख सन्देश बनाएको बताएका छन् ।
एआई प्रतिस्पर्धामा अमेरिका–चीन तनाव
बैठकको अर्को महत्त्वपूर्ण विषय एआई प्रविधिमा अमेरिका र चीनबिचको प्रतिस्पर्धा थियो । चीन भ्रमणअघि नै एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित रहेको आरोप लागेकी एक व्यक्तिबीचको विवादले अमेरिकी राजनीतिक वृत्तमा चर्चा पाएको थियो । यसैबीच एआई प्रणालीका अद्यावधिकका कारण अमेरिकाका विभिन्न सेवामा अवरोध उत्पन्न भएपछि प्रविधि सुरक्षाको विषय पनि थप पेचिलो बनेको थियो ।

अमेरिकी प्रशासनभित्र चीनलाई अत्याधुनिक एआई चिप बिक्रीमा प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा मतभेद छ । प्रशासनका केही अधिकारी चीनको प्रविधिगत विकास रोक्न कडा प्रतिबन्धको पक्षमा छन् । तर, ट्रम्प भने एआई प्रविधिको विकासलाई अवरुद्ध गर्ने कुनै पनि कदमप्रति अनिच्छुक देखिएका छन् ।
उनले प्रविधिको अपार सम्भावनालाई नष्ट गर्ने काम गर्न नहुने बताएका छन् । यद्यपि, एआईका नकारात्मक पक्ष व्यवस्थापन गर्न सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
चीनको कूटनीतिक सफलताको रूपमा व्याख्या
सेन्जेनमा भएको त्रिपक्षीय भेटलाई चीनले आफ्नो कूटनीतिक सफलताका रूपमा प्रस्तुत गर्ने देखिन्छ । ट्रम्पले चीन र सीको प्रशंसा गर्नु तथा आफू र सी नेतृत्वमा रहुन्जेल दुई देशबिच समस्या नहुने बताउनुले बेइजिङलाई सकारात्मक सन्देश दिएको छ ।
चीनले ट्रम्पको भ्रमणलाई आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने अवसरका रूपमा उपयोग गरेको छ । सीले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा दिएको विशेष स्वागत र भेटका क्रममा देखाएको आत्मीयताले पनि चीनले यो सम्बन्धलाई कति महत्त्व दिएको छ भन्ने देखाउँछ ।
सीले युक्रेनको भविष्यबारे युक्रेनको अनुपस्थितिमा हुने कुनै नयाँ याल्टा शैलीको सहमति आफ्नो देशको बहुपक्षीय विश्व व्यवस्थाको वकालतसँग मेल नखाने ठानेका थिए । त्यसैले ठोस सम्झौता नभए पनि तीन शक्तिबिचको बैठक आयोजना गर्नु चीनका लागि पर्याप्त कूटनीतिक उपलब्धि बनेको छ । सिएनएनबाट




प्रतिक्रिया