राप्रपामा पुस्तान्तरणको बहस: ज्ञानेन्द्र शाहीद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुन गइरहेको महाधिवेशनलाई लक्षित गर्दै शाहीले आज पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको आवश्यकता औँल्याउँदै नेता शाहीले अग्रज नेताहरूलाई सम्मानजनक स्थान दिएर युवा पुस्ताले कार्यकारी नेतृत्व सम्हाल्नुपर्ने प्रस्ताव अघि सारेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको ‘सर्वोच्च नेता’ का रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।

शाहीका अनुसार पार्टीभित्रको गुट र उपगुटको राजनीतिभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउनु आजको मुख्य आवश्यकता हो। “अग्रजलाई सर्वोच्च नेता र अभिभावकीय नेतृत्वका रूपमा राख्दै अब युवा पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ,” शाहीले भने, “म पार्टी विभाजन गर्न होइन, बरु सबैलाई जोड्न आएको हुँ।”

आगामी स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोग्न सक्ने सम्भावित क्षतिलाई रोक्न बेलैमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको उनको जिकिर छ। राप्रपालाई तीन पुस्ताको संगमका रूपमा व्याख्या गर्दै शाहीले पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीजस्ता परराष्ट्र तथा अर्थविज्ञहरूको अनुभव र सुझावलाई मार्गदर्शक बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बोकेको पार्टीमा युवा जोश र जाँगरलाई समेट्दै समयसापेक्ष रूपान्तरण गर्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको दाबी शाहीले गरेका छन्।