मधेशमा नयाँ सरकार गठनका लागि तीन दलले मागे थप समय


जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया लम्बिएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न तीन दलले प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय दिएको थियो । उक्त समयसीमा कसैले पनि दाबी पेश नगरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर थप समय उपलब्ध गराउन माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

तीनै दलका नेताहरूले आपसी छलफल जारी रहेकाले सहमति जुटाउन थप समय आवश्यक रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठनको दाबी पेस गर्ने समय बढाउन आग्रह गरेका छन् ।

तीन दलबीच नयाँ सरकार गठनका विषयमा आवश्यक छलफल भइरहेको भए पनि सहमति जुट्न नसकेपछि अन्तिम समयमा प्रदेश प्रमुखसँग समय थपको माग गरिएको हो ।