दलको झोला बोक्ने होइन, जनताको सेवा गर्ने कर्मचारी चाहिन्छ : गृहमन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकारी कर्मचारीलाई राजनीतिक दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्। उनले राष्ट्रसेवक कर्मचारीको मुख्य जिम्मेवारी देश र नागरिकको हितमा काम गर्नु रहेको स्पष्ट पारेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कर्मचारीले कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

उनले सरकार गठन भएदेखि नै कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी र देशप्रति समर्पित हुन आग्रह गर्दै आएको उल्लेख गरेका छन्। नेता र कर्मचारी सबैको साझा लक्ष्य राष्ट्रको हित र नागरिकको सेवा हुनुपर्ने उनको भनाइ छ।

पटकपटक सचेत गराउँदा पनि राजनीतिक दलको आडमा राजनीति गर्न सकिन्छ भन्ने सोच कसैले राखेको भए त्यस्तो भ्रम त्याग्न उनले चेतावनी दिएका छन्।

त्यस्तै, पदीय जिम्मेवारीलाई बेवास्ता गर्दै जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने उनले बताएका छन्।