काठमाडौं, ५ मंसिर । नेपाल र भारतबीचको सम्बन्धलाई ऐतिहासिक विरासतमा मात्र सीमित नराखी भविष्यका सम्भावना र साझा हितका आधारमा पुनः परिभाषित गर्नुपर्नेमा दुवै देशका राजनीतिज्ञ तथा राजनीतिशास्त्रीहरूले जोड दिएका छन्।
शनिबार आयोजित नेपाल–भारत नीति संवादमा बोल्दै वक्ताहरूले दुवै देशले एकअर्काका सकारात्मक पक्षबाट सिकेर आफ्नै राजनीतिक तथा आर्थिक विकासको मोडल तयार गर्नुपर्ने धारणा राखेका हुन्।
भारतका पूर्वराजदूत अखिलेश मिश्रले नेपालको संविधान देवनागरी लिपिमा लेखिनु र आफ्नो मौलिक संस्कृति संरक्षण गर्नु विश्वकै लागि उदाहरणीय पक्ष भएको बताए। नेपालले आफ्नो सांस्कृतिक पहिचान जोगाएर भारतलाई समेत सिक्नुपर्ने सन्देश दिएको उनको भनाइ थियो।
नेपालमा सनातन सभ्यताको संरक्षण र विक्रम संवत्को क्यालेन्डरको प्रयोगलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले भने, ‘नेपालबाट भारतले धेरै कुरा सिक्नुपर्ने अवस्था छ। नेपाल र भारतले आफ्नै मोडल तयार गरी विकास गर्नुपर्छ, अरूको अनुकरण गर्न आवश्यक छैन।’
भारतीय जनता पार्टीका बिहार प्रदेश प्रवक्ता डा. गुरु प्रकाशले नेपाल–भारत सम्बन्धलाई विगतको इतिहासमा मात्रै सीमित राख्न नहुने बताए। उनले भने, ‘नेपाल–भारत सम्बन्धलाई इतिहासको स्मृतिमा मात्र सीमित नराखी भविष्यको सम्भावना पनि बनाउनुपर्छ।’ उनले बिहारलाई दुई देशबीचको सम्बन्धको जीवन्त सेतुका रूपमा व्याख्या गरे।
बिहारका पूर्वसांसद हरेन्द्र पाण्डेले भारतले नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सधैँ सम्मान गर्ने बताए। नेपाललाई भारतले हडप्छ भन्ने भय सिर्जना गरेर भारतविरोधी गतिविधि बढाउने गरिएको उनको आरोप थियो।
उनले भने, ‘नेपाललाई हडप्ने कार्य भारतबाट कदापि हुँदैन। कसैले नेपाललाई हडप्न खोज्छ भने भारतका जनता त्यसविरुद्ध उठ्छन्। म आफैँ उठ्छु, किनकि नेपाल हाम्रो पवित्र तीर्थस्थल हो।’
पाण्डेले नेपाल र भारत दुवैले अरूको राजनीतिक तथा सामाजिक प्रणालीको नक्कल गर्नुभन्दा आफ्नै मौलिक मोडल विकास गर्नुपर्ने बताए। धर्मनिरपेक्षताको अभ्यासमा भारतले गल्ती गरेको र नेपालले पनि त्यही बाटो पछ्याएको उनको टिप्पणी थियो।
राजनीतिशास्त्री श्रीकृष्ण अनिरुद्ध गौतमले नेपालमा भारतप्रति बढ्दै गएको नकारात्मक धारणालाई सम्बोधन गर्नुपर्ने बताए। दुई देशको सम्बन्धलाई नयाँ ढंगले परिभाषित नगरे भविष्यको सम्बन्धमा चुनौती आउन सक्ने उनको भनाइ थियो।
उनले नेपाल–भारत सम्बन्धको चर्चा गर्दा उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किमको भूमिकालाई समेत ध्यान दिनुपर्ने बताए। दुई देशबीचको आवतजावतमा अवरोध र सीमापार विवाहमा आएको कमीप्रति पनि उनले चिन्ता व्यक्त गरे।
राजनीतिशास्त्री डा. चन्द्रदेव भट्टले नेपाल र भारतले आफ्नो सभ्यता, संस्कृति तथा मूल्य–मान्यताअनुसार राजनीतिक र आर्थिक विकासको मोडल बनाउनुपर्ने धारणा राखे।
उनले भने, ‘हामीले पश्चिमको भौतिक विकास देखेर त्यही प्रणाली हुबहु लागू गर्न खोज्यौँ। हामीले हाम्रो आर्थिक र राजनीतिक मोडल पत्ता लगाउनुपर्छ।’
कार्यक्रमको पहिलो सत्रमाथि टिप्पणी गर्दै चौधरी चरण सिंह विश्वविद्यालयका प्राध्यापक सञ्जीवकुमार शर्माले राजनीतिक सत्ताभन्दा बाहिर रहेर पनि संवादमार्फत नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सकिने बताए।





प्रतिक्रिया