५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारमा संलग्नलाई संरक्षण गरेको र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेलाई कारबाहीको निशाना बनाएको आरोप लगाएका छन्।
शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्यको यस्तो कार्यशैलीले गलत प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको टिप्पणी गरे। खुलेआम भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने तर त्यसको विरोध गर्नेहरूलाई विभिन्न बहानामा थुनामा राख्ने प्रवृत्ति देखिएको उनको आरोप छ।
उनले सरकारको उक्त रवैयाविरुद्ध नयाँ संकल्पका साथ अघि बढ्ने पनि बताए।
प्रचण्डले जनतालाई वर्तमान परिस्थितिबारे बुझाउन नसकिए मुलुकले पुनः अर्को संकटको सामना गर्नुपर्ने चेतावनीसमेत दिए। सरकारले संविधानको उल्लंघन गर्न सक्ने आशंका व्यक्त गर्दै उनले संविधानमाथि हस्तक्षेप भए देश फेरि दुर्घटनातर्फ जाने बताए।
‘दुर्घटना टरेको छैन। जनतालाई बुझाउन सकेनौँ भने फेरि अप्ठ्यारो आउँछ,’ उनले भने, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ।’




प्रतिक्रिया