काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई सफल, व्यवस्थित र फलदायी बनाउन भारतमा सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। प्रधानमन्त्रीको स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीका विभिन्न चोक तथा स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्।
प्रधानमन्त्री बालेनको भ्रमणलाई विशेष महत्त्वका साथ लिँदै भारतीय विदेश मन्त्रालय तथा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार सक्रिय रूपमा तयारीमा जुटेको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता तथा विभिन्न द्विपक्षीय सम्झौताहरूको तयारीसमेत पूरा भइसकेको भारतीय विदेश मन्त्रालयको उच्च स्रोतलाई उद्धृत गर्दै स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जानकारी दिएका छन्।
धमला पनि प्रधानमन्त्रीको भारत भ्रमणसम्बन्धी गतिविधि नजिकबाट नियाल्न शनिबार नै नयाँदिल्ली पुगेका छन्।
उनका अनुसार भ्रमणलाई सफल बनाउन भारतीय पक्षले उच्च प्राथमिकताका साथ आवश्यक तयारी गरिरहेको छ।
भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपाली दूतावास पनि भ्रमणलाई सफल र फलदायी बनाउन सक्रिय रूपमा समन्वयमा जुटेका छन्।
दुवै देशका कूटनीतिक निकायबीच भ्रमणका विभिन्न कार्यक्रम तथा व्यवस्थापनका विषयमा आवश्यक तयारी गरिएको छ।
प्रधानमन्त्रीको भ्रमणको सूचना जनतासमक्ष सहज रूपमा पुर्याउन नेपालबाट दिल्ली पुगेका पत्रकारहरूका लागि समेत विशेष व्यवस्थापन गरिएको छ। समाचार संकलन तथा रिपोर्टिङलाई सहज बनाउन पत्रकारहरूसँग समन्वय गरिएको छ भने भ्रमणसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मिडिया डेस्कसमेत स्थापना गरिएको छ।
भारतीय सञ्चारमाध्यममा पनि बालेनको भ्रमणलाई प्राथमिकता
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरूले समेत विशेष चासो र प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन्। भारतका चर्चित सञ्चारमाध्यमहरू India Today, NDTV, The Economic Times, Hindustan Times, The Times of India र Dainik Jagran लगायतले नेपाल–भारत सम्बन्ध, प्रधानमन्त्री बालेनको भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता तथा दुई देशबीचको आर्थिक र कूटनीतिक सहकार्यका विषयलाई समाचारमा स्थान दिएका छन्।
भारतीय सञ्चारमाध्यमहरूले भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने, व्यापार तथा आर्थिक साझेदारी विस्तार गर्ने र दुई देशबीचको विकास सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्।
प्रधानमन्त्री बालेन शाह आज दिउँसो दुईदिने भ्रमणको लागि दिल्ली प्रस्थान गर्दैछन् ।




प्रतिक्रिया