काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो ।
सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो ।
२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्यत्र लगानी तथा रकम अपचलन गरेको देखिएको सीआईबीका एक अधिकारीले बताएका छन् ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ ।
बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँमाथि बैंकबाट लिइएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको विषयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया