७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबार उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय वार्ता तथा विभिन्न परियोजनाको उद्घाटन र सम्झौता आदानप्रदानका कार्यक्रममा सहभागी हुँदैछन्।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तामा विपद् व्यवस्थापन, खेलकुद, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक तथा सूचना प्रविधिलगायतका १० क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन तथा धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका विषय पनि एजेन्डामा छन्।
द्विपक्षीय वार्तापछि दिउँसो १२:३५ बजे दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्ने, समझदारीपत्र तथा सम्झौता आदानप्रदान गर्ने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
तर, सार्वजनिक भएको द्विपक्षीय वार्ताको एजेन्डामा नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई प्रवेश मार्ग र सीमा विवादका विषय समावेश छैनन्।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले दिउँसो १:१५ बजे प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
प्रधानमन्त्री शाहले दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्।




प्रतिक्रिया