ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न चिकित्सा तथा नर्सिङ विधामा सहप्राध्यापक र उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले कार्यसम्पादन करार सेवामा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानले युरोलोजी, जीआई सर्जरी, न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, अर्थोपेडिक्स, अप्थाल्मोलोजीलगायतका १३ विधामा सहप्राध्यापक पदका लागि आवेदन खुलाएको छ।
त्यस्तै, कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियाट्री, मेडिकल अन्कोलोजी, इएनटी, इन्टरनल मेडिसिन (जेरियाट्रिक) र एडल्ट हेल्थ नर्सिङ विधामा उपप्राध्यापक पदका लागि दरखास्त माग गरिएको छ।
चिकित्सातर्फका पदमा आवेदन दिन सम्बन्धित विषयमा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरी नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। नर्सिङतर्फ उपप्राध्यापक पदका लागि एडल्ट हेल्थ वा मेडिकल सर्जिकल नर्सिङ विषयमा स्नातकोत्तर उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
आवेदनका लागि शैक्षिक योग्यताका प्रमाणपत्र, व्यक्तिगत विवरण (बायोडाटा), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र निवेदन पेस गर्नुपर्नेछ।
दरखास्त फाराम प्रतिष्ठानको कार्यालय वा आधिकारिक वेबसाइट www.pahs.edu.np बाट प्राप्त गर्न सकिनेछ। अन्तर्वार्ताका समयमा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।
अन्तर्वार्ताको मिति र समय पछि सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ।




प्रतिक्रिया