मोदीलाई बालेनको उपहार : पशुपतिनाथको प्रसाद, रुद्राक्ष र शालिग्राम


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार सेट प्रदान गरेका छन् ।

७ मंसिरमा नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टामा राखेर उक्त उपहार मोदीलाई दिएका हुन् ।

उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । प्रधानमन्त्री शाहले दिएको यो उपहार व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए । मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

त्यस्तै, नेपाली दूतावासका तर्फबाट प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।