राजघाटको आगन्तुक पुस्तिकामा बालेनले लेखे– करुणा नै सर्वोच्च शक्ति, निःस्वार्थ सेवा नै साँचो नेतृत्व


काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको बताएका छन् ।

नयाँ दिल्लीस्थित गान्धीको समाधिस्थल राजघाट पुगेर माल्यार्पणपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

पुस्तिकामा प्रधानमन्त्री शाहले आफू भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको उल्लेख गर्दै गान्धीको विरासतमा अमर ज्योति देखेको बताएका छन् ।

‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो,’ उनले लेखेका छन् ।

उनले करुणा नै सर्वोच्च शक्ति भएको र समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले जोडिएको बताएका छन् ।

गान्धीका कालजयी आदर्शप्रति सम्मान व्यक्त गर्दै इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका आधारमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।