अयोध्या–जनकपुर रेल सेवाले पर्यटनसँगै रोजगारीका अवसर बढाउँछ : मन्त्री यादव


धनुषा । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबीच सुरु भएको रेल सेवाले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय व्यापार, रोजगारी र उद्यमशीलताको विकासमा नयाँ सम्भावना खोल्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सरयू–कमला एक्सप्रेसले नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई आधुनिक यातायात सेवामार्फत थप मजबुत बनाएको बताए ।

उनले अयोध्याबाट रेल जनकपुरधाम आइपुग्नु दुई देशबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । रामजानकी विवाहको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै उनले अयोध्या र जनकपुरबीचको सम्बन्ध केवल दुई सहरबीचको सम्बन्ध नभई परिवार, संस्कृति, परम्परा र आस्थासँग जोडिएको बताए ।

यस वर्षको विवाहपञ्चमीमा अयोध्याबाट आउने श्रद्धालु तथा भक्तजनलाई रेलमार्ग हुँदै जनकपुरधाम पुग्न सहज हुने उनको विश्वास छ ।

मन्त्री यादवका अनुसार रेल सेवा सञ्चालनले जनकपुरधामको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर प्रदान गरेको छ । धार्मिक पर्यटकलाई जानकी मन्दिरको दर्शनमा मात्र सीमित नराखी मिथिलाको कला, संस्कृति, हस्तकला, खानपान र स्थानीय उत्पादनसँग जोड्नुपर्ने उनले बताए ।

पर्यटकको बसाइ अवधि बढाउन सके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । रेल सेवाबाट होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, पर्यटन गाइड, होमस्टे तथा साना व्यवसायले नयाँ अवसर प्राप्त गर्ने उनले उल्लेख गरे ।

यसले नेपाल र भारतको मिथिला क्षेत्रका युवालाई पर्यटन, अतिथि सत्कार, सीप विकास तथा उद्यमशीलताका माध्यमबाट रोजगारी सिर्जना गर्न सहयोग पुग्ने मन्त्री यादवको अपेक्षा छ ।

‘आज हामी एउटा रेलगाडीको स्वागत मात्र गरिरहेका छैनौँ, दुई देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको पनि स्वागत गरिरहेका छौँ,’ उनले भने ।

आफ्नो मन्त्रालयको जिम्मेवारीसँग जोड्दै यादवले जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटनसँगै सीप, रोजगारी र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए ।

उनले रेल सेवाले दुई देशबीचको दूरी घटाउने मात्र नभई आपसी सम्बन्ध, पर्यटन, व्यापार र रोजगारीका अवसरसमेत विस्तार गर्ने विश्वास व्यक्त गरे ।