९ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले रिटमा उठाइएका मुख्य कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइका क्रममा गर्ने जनाएको छ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिनुका तीनवटा आधार प्रस्तुत गरेको छ।
पहिलो, सरकारको निर्णयअनुसार डा. मनोजकुमार केसीले १८ कात्तिक २०८३ मै प्रहरी महानिरीक्षक पदको नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको अवस्थालाई अदालतले आधार मानेको छ।
दोस्रो, प्रहरी संगठनको नेतृत्व र देशको शान्ति सुरक्षासँग जोडिएको विषय सार्वजनिक महत्वको तथा संवेदनशील भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ।
तेस्रो, रिटमा उठाइएका कानुनी प्रश्न र माग गरिएको न्यायिक उपचार अन्तिम सुनुवाइबाटै निरूपण गर्नुपर्ने अदालतले जनाएको छ। सुविधाको सन्तुलनका दृष्टिले समेत अन्तरिम आदेश आवश्यक नदेखिएको आदेशमा उल्लेख छ।
कार्कीले आफूलाई प्रहरी संगठनको नेतृत्व तथा कमान्ड प्रणालीबाट गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सरकारको निर्णय बदर गरी पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दिएका थिए।
यद्यपि सर्वोच्चले मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै शीघ्र सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ। लिखित जवाफ प्राप्त भएको सात दिनभित्र मुद्दाको पेसी तोक्न अदालत प्रशासनलाई निर्देशन दिइएको छ। पेसी तोकिएपछि दुवै पक्षले मुद्दा स्थगित गर्न नपाउने आदेशसमेत गरिएको छ।
दुवै पक्षबाट कानुन व्यवसायीको बहस
बुधबार भएको सुनुवाइमा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइरालासहित अधिवक्ताहरूले बहस गरेका थिए।
सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेश घिमिरे र सोमकान्ता भण्डारीले बहस गरेका थिए।
त्यस्तै, नवनियुक्त आईजीपी डा. मनोज केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टसहित अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा र सञ्जीवराज रेग्मीले बहस गरेका थिए। प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले पनि अदालतमा आफ्नो पक्ष राखेका थिए।




प्रतिक्रिया