९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएका छलफल, सम्झौता तथा समझदारीका विषय सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षा गरिएअनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे।
उनका अनुसार भारतसँग लामो समयदेखि छलफलमा रहेका तर निष्कर्षमा पुग्न नसकेका विषयलाई टुंग्याउने र दुई देशबीच विवादित रहेका मुद्दामा नेपालको स्पष्ट अडान प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्रीले ती विषयमा नेपालको धारणा प्रभावकारी रूपमा राख्न नसकेको उनको आरोप छ।
पौडेलले भ्रमणका क्रममा पुराना तथा नयाँ मुद्दामा समेत स्पष्ट दृष्टिकोण प्रस्तुत नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेपाली जनताले महत्वपूर्ण विषयमा ठोस प्रगतिको अपेक्षा गरे पनि भ्रमणले त्यसलाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो।
त्यसैगरी, भारतले नेपाललाई सहयोग गर्ने घोषणा गरेको रकम अनुदान हो वा ऋण भन्ने विषयमा पनि सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनले बताए।
प्रधानमन्त्रीको भारत भ्रमण व्यक्तिगत नभई राष्ट्रको प्रतिनिधित्व गर्ने औपचारिक भ्रमण भएकाले त्यहाँ भएका गतिविधि र उपलब्धिबारे नागरिकलाई जानकारी गराउनु सरकारको जिम्मेवारी भएको पौडेलले उल्लेख गरे।
उनले प्रधानमन्त्रीले भारतमा कसकससँग भेटवार्ता गरे, कुन विषयमा छलफल भयो, केकस्ता सम्झौता तथा समझदारी भए र कुन विषय प्रक्रियामा अघि बढेका छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरे।




प्रतिक्रिया