कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि जारी बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।

बैठकमा प्रस्तुत एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले छलफल अझै केही दिन चल्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार बिहान ११ बजे बैठक पुनः बस्ने जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा छलफलका लागि तय गरिएका विषयमा सदस्यहरूले धारणा राख्न बाँकी रहेकाले बैठक निरन्तर सञ्चालन हुनेछ।

बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका एजेन्डामाथि विस्तृत छलफल भइरहेको छ। त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको वर्तमान अवस्था र आगामी कार्यदिशाका विषयमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव राखिरहेका छन्।

पार्टीभित्र नेतृत्व र संगठनसम्बन्धी विवाद चर्किरहेका बेला जारी केन्द्रीय समिति बैठकलाई विशेष चासोका साथ हेरिएको छ।