काठमाडौँ । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने साप्ताहिक ‘सरयू–कमला’ एक्सप्रेस रेल सेवाको उद्घाटन भएसँगै यसको यात्रा मापदण्ड र टिकट रिजर्भेसन कार्यविधि तय गरिएको छ । भाडादर र बुकिङ प्रक्रिया टुंगिएपछि आगामी सातादेखि यो रेल नियमित सञ्चालनमा आउने बताइएको छ ।
तय गरिएको तालिकाअनुसार जनकपुरधामबाट अयोध्या जाने ट्रेन नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे छुट्नेछ । उक्त रेल भारतीय समयअनुसार दिउँसो २ः१० बजे जयनगर पुग्नेछ र त्यहाँ एक घण्टा सुरक्षा जाँच हुनेछ । त्यसपछि साँझ ७ बजे सीतामढी हुँदै भोलिपल्ट बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने तालिका छ ।
त्यस्तै, अयोध्या–जनकपुरधाम रुटमा चल्ने ट्रेन नम्बर १५५९६ प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुट्नेछ । भोलिपल्ट मंगलबार बिहान ८ः३० बजे जयनगर पुगेर दुई घण्टा विश्राम गरेपछि यो रेल नेपाली समयअनुसार दिउँसो १२स्४० बजे जनकपुरधाम आइपुग्नेछ ।
भारतीय रेलवेले तय गरेको कार्यविधिअनुसार हाललाई यो रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउनेछन् । जयनगरमा तेस्रो मुलुकका नागरिकका लागि पूर्ण अध्यागमन कार्यालय नभएकाले यस्तो व्यवस्था गरिएको हो ।
यात्राका क्रममा नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र वा राहदानी अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ । भारतीय नागरिकका हकमा राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । यात्रुले टिकटमा उल्लेख भएको विवरणसँग मेल खाने सक्कल परिचयपत्र जयनगरमा देखाउनुपर्नेछ ।
यात्रुहरूले जनकपुरधाम रेलवे काउन्टर, भारतका रेलवे काउन्टर, आईआरसीटीसी वेबसाइट तथा आधिकारिक एजेन्टमार्फत टिकट लिन सक्नेछन् । अनलाइन माध्यमबाट यात्राको ६० दिनअगाडिदेखि नै टिकट काट्न सकिनेछ ।
टिकटको भाडादर भने केही दिनभित्र सार्वजनिक गरिने बताइएको छ, जसमा आधारभूत भाडाका अतिरिक्त आरक्षण शुल्क, सुपरफास्ट शुल्क र जीएटी समावेश हुनेछन् । यो रेलमा कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । साथै, टिकट हराएमा त्यसको प्रतिलिपि जारी गरिने छैन ।
‘सरयू–कमला’ एक्सप्रेस आधुनिक ‘एलएचबी’ श्रेणीका १७ डिब्बासहित सञ्चालन हुनेछ । यसमा दुईवटा ‘एसी टु–टायर’, तीनवटा ‘एसी थ्री–टायर’, तीनवटा ‘एसी थ्री–टायर इकोनोमी’ र सातवटा स्लिपर क्लासका डिब्बा रहनेछन् । एउटा लगेज डिब्बा र एउटा पावर कार पनि समावेश हुनेछ ।
उक्त रेलमा साधारण (जनरल) र फस्ट एसी डिब्बा हुने छैनन् । वातानुकूलित (एसी) श्रेणीका डिब्बामा ओढ्ने–ओछ्याउने सामग्री उपलब्ध गराइए पनि स्लिपर डिब्बामा भने यो सुविधा नहुने जनाइएको छ ।




प्रतिक्रिया