कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा


काठमाडौँ । नेपाली कांग्रेसको पुर्व सभापति शेर बहादुर देउवा समुहका नेता कान्छाराम तामाङविरुद्ध दायर चेक अनादरसम्बन्धी मुद्दामा आज जिल्ला अदालत लमजुङमा सुनुवाइ हुने भएको छ ।

कान्छाराम तामाङका नामले चिनिने पूर्णबहादुर तामाङविरुद्ध व्यावसायिक कारोबारका क्रममा भुक्तानी गर्नुपर्ने रकम नदिएको र पर्याप्त मौज्दात नभएको बैंक खाताको चेक दिएको आरोपमा मुद्दा दायर भएको हो ।

कान्छाराम नाना जेभीका प्रोप्राइटर पूर्णबहादुर तामाङसहित दुई जनालाई विपक्षी बनाउँदै लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर रेवन श्रेष्ठका तर्फबाट अदालतमा मुद्दा दर्ता गरिएको जनाइएको छ ।

पीडित पक्षका अनुसार पटक–पटक रकम भुक्तानीका लागि ताकेता गर्दा पनि तामाङले दायित्व पूरा नगरेको र रकम नभएको खाताको चेक दिएर झुक्याएका थिए । सोही कारण कानुनी उपचार खोज्दै अदालत पुगेको पीडित पक्षले प्रचलित कानुनअनुसार कारबाही गर्न र बिगो रकम असुलउपर गराउन माग गरेको छ ।

पार्टीभित्र विधान, विधि र नैतिकताको विषयलाई जोडतोडका साथ उठाउँदै कांग्रेसको देउवा समूहमा सक्रिय रहँदै आएका तामाङविरुद्ध आफ्नै व्यावसायिक कारोबारसँग जोडिएको आर्थिक विवाद अदालतसम्म पुगेको हो ।