काठमाडौं । ७२ घण्टामै रकम दोब्बरदेखि चार गुणासम्म बनाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका हनुमानी भनिने रामबहादुर रजकविरुद्ध पीडितहरूले पुनः न्यायको माग गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामाका ५२ वर्षीय रजक अहिले प्रहरी हिरासतमा छन् ।
सप्तरी, सुनसरी, सिरहा र उदयपुरका २१० भन्दा बढी व्यक्तिबाट २५ करोड रुपैयाँभन्दा बढी ठगी भएको दाबी गर्दै आएका पीडितहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा बताएका हुन् ।
पत्रकार सम्मेलनमा सप्तरीकाे सुरुङ्गा नगरपालिका–४ का पीडित सन्तोष चौधरीले ५० लाख रुपैयाँ गुमाएको बताए । उनका अनुसार अदालतबाट धरौटीमा छुटेका रजकले पुनः उस्तै गतिविधि सञ्चालन गरिरहेका बेला गत कात्तिक १७ गते प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । हाल उनी सप्तरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको चौधरीले जानकारी दिए ।
२१ पुस २०८१ मा पक्राउ परेका रजक त्यसबेला ११ लाख रुपैयाँ धरौटी नतिर्दा कारागार पुगेका थिए । पछि धरौटी तिरेर उनी छुटेका थिए ।
रकम फिर्ता माग्दा रजकले पैसा दिने आश्वासन दिनुको सट्टा उल्टै धम्क्याउने गरेको चौधरीको आरोप छ । उनले आफूहरूलाई थर्काउनेदेखि ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै आफ्नो र परिवारको सुरक्षाको समेत माग गरेका छन् ।
चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले चुनावअघि पीडितहरूको समस्या समाधान गरिदिने र ठगी भएको रकम उठाउन पहल गर्ने आश्वासन दिएका थिए । तर, निर्वाचन जितेपछि भने आफूहरूको समस्या सम्बोधन गर्न चासो नदेखाएको चौधरीको गुनासो छ ।
पीडितहरूका अनुसार रजकले सुरुमा सानो रकमलाई केही मिनेटमै चार गुणा बनाएर देखाउने र त्यसपछि ठूलो रकम लगानी गर्न लगाउने गरेका थिए । यही प्रलोभनमा परेर कतिपयले बैंकबाट ऋण लिएका थिए भने कतिपयले आफन्त र साथीभाइसँग सापटी लिएर रकम बुझाएका थिए ।
चाैधरीसँगै सिरहाका नागेश्वर पासवानले ३० लाख, सुनसरीका महेश यादवले ५५ लाख र उदयपुरका मन्जिल कार्कीले २५ लाख रुपैयाँ ठगी भएको बताएका छन् ।
पीडितहरूले घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न, ठगी भएको रकम फिर्ता गराउन र आफूहरूलाई सुरक्षा दिन माग गरेका छन् ।
रजकविरुद्ध ठगी मुद्दा सप्तरी जिल्ला अदालतमा विचाराधीन रहेको पाइकाे छ ।





प्रतिक्रिया