रास्वपाले चुनावी वाचा पूरा गरेन, सरकारका कामको तथ्यसहित भण्डाफोर गर्छौँ : प्रदीप पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको आरोप लगाएका छन् ।

धादिङ–२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले निर्वाचनअघि एउटा प्रतिबद्धता जनाउने र निर्वाचनपछि त्यसको विपरीत व्यवहार गर्ने छुट कुनै पनि राजनीतिक दललाई नभएको बताए ।

‘निर्वाचनमा एउटा कुरा बोलेर निर्वाचनमा गइसकेपछि फेरि अर्को व्यवहार गर्न पाइँदैन,’ उनले भने, ‘लोकतन्त्रलाई असुरक्षित गर्ने, लोकतन्त्र समाप्त गर्ने र विधिको शासन अन्त्य गर्ने ढंगबाट सरकार प्रस्तुत हुन्छ भने त्यसका विरुद्ध हामीले खबरदारी गर्नुपर्छ ।’

पौडेलले सरकारका कामकारबाहीमाथि नेपाली कांग्रेसले सूक्ष्म निगरानी राख्ने र कमजोरी तथा अनियमितताका विषय तथ्य र प्रमाणसहित जनतामाझ सार्वजनिक गर्ने बताए । भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस सशक्त रूपमा प्रस्तुत हुने उनको भनाइ थियो ।

उनले वर्तमान सरकारले नागरिक र संसद्को भूमिकालाई बेवास्ता गरेको आरोपसमेत लगाए ।

‘सरकारले संसद्लाई उपेक्षा गरेको छ । नागरिकलाई अपमान गरेको छ । संसदीय व्यवस्थामाथि प्रहार गर्ने काम गरेको छ,’ पौडेलले भने, ‘ती कुराहरू हामीले निरन्तर रूपमा उठाउनेछौँ, खबरदारी गर्नेछौँ ।’